काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा चिसो मौसम महसुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान कीर्तिपुरको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३.७ डिग्री सेल्सियस रहेको थियो। ललितपुरको हात्तीबन र भक्तपुरको नगरकोटमा तापक्रम २.८ डिग्री सेल्सियस पुगेको छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा चिसो झन् तीव्र छ। लुक्लामा माइनस ०.५, जुम्लामा माइनस ५.९ र हुम्लाको सिमकोटमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। मौसमविद्हरूले चिसो अझै केही दिन कायम रहने चेतावनी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अत्यधिक चिसो, शीतलहर, हुस्सु र वायु प्रदूषणका कारण रुघाखोकी, ज्वरो, दम, सासप्रश्वास समस्या र हाइपोथर्मियाका बिरामी बढ्ने गरेका छन्। बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगी बढी जोखिममा छन्। समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा वा ‘हेलो स्वास्थ्य’ १११५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।