विराटनगर । तराई क्षेत्रमा चिसो बढ्दै जाँदा टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। चिकित्सकहरूका अनुसार चिसो हावा, तापक्रमको अचानक परिवर्तन, शरीरमा पानीको कमी, साइनस समस्या तथा घाँटी र काँधका मांसपेशी कडा हुनु जाडो मौसममा टाउको दुखाइ बढ्नुका मुख्य कारण हुन्।
चिकित्सकहरूका अनुसार जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर पार्छ। “जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन्, जसले टाउकोतर्फ जाने रक्तप्रवाह घटाउँछ। त्यसैले धेरैले टाउको भारी, च्यापिएको जस्तो वा निरन्तर दुखेको महसुस गर्छन्।
जाडोमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउँछन्, जसका कारण डिहाइड्रेसन हुन्छ र टाउको दुखाइको समस्या देखिन थाल्छ। चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा असर गर्दा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ। मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, चिसोमा सुत्ने र लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिन्छ।
जाडो मौसममा साइनस समस्या भएका व्यक्तिमा पनि टाउको दुखाइ बढ्ने गर्छ। नाक बन्द हुने, अनुहार भारी हुने र आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने लक्षण देखिन्छन्। समयमै उपचार नगरे यो समस्या लामो समयसम्म रहन सक्ने चिकित्सकहरू बताउँछन्। साथै माइग्रेनका बिरामी पनि जाडोमा बढी प्रभावित हुने गरेका छन्। चिसो हावा, निन्द्राको गडबडी र मानसिक तनाव माइग्रेन ट्रिगर गर्ने कारण हुन्।
बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुखेमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ। टाउको दुखाइबाट बच्न पर्याप्त पानी पिउने, न्यानो कपडा लगाउने, घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने र घाँटी–काँधको हल्का व्यायाम गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।