गोरखा । गोरखा नगरपालिका–१४ मा डेरा गरी बस्दै आएका एकै परिवारका चार जना विषालु च्याउ खाँदा बिरामी परेका छन्।
मकवानपुरको बागमती नगरपालिका–१३ घर भएका उनीहरू स्थानीय राममाया भण्डारीको घरमा डेरा गरी बस्दै आएका थिए। घर नजिकै परालको टौवामा उम्रिएको च्याउ टिपेर तरकारी बनाएर खाँदा ३० वर्षीय हिरा पहरी, १२ वर्षीय किसान पहरी, ६ वर्षीय हिमाल पहरी र ५ वर्षीया सुजिता पहरी बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
सोमबार साँझ च्याउको तरकारी र भात खाएको केही समयपछि उनीहरू अस्वस्थ भएको स्थानीय जनप्रतिनिधि गोपालबाबु थापाले बताए। बिरामीहरूको आँवुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सक डिवी क्षेत्रीका अनुसार उनीहरू हाल बोल्न सक्ने अवस्थामा रहेका छन्।