काठमाडौँ । जाडो याम बढेसँगै इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । चिसो मौसममा फ्लूका घटना बढ्ने भएकाले समयमै सावधानी अपनाए संक्रमणबाट जोगिन सकिने मन्त्रालयको भनाइ छ ।
इन्फ्लुएन्जा भाइरसका कारण हुने फ्लू शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहमा देखिन सक्ने सङ्क्रामक रोग हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोग भएका वा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा फ्लूको सङ्क्रमण बढी देखिने गरेको छ । यस्ता समूहमा फ्लूले सामान्यभन्दा गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको उहाँले बताउनुभयो ।
फ्लू भएका धेरैजसो व्यक्तिलाई विशेष औषधि वा अस्पताल भर्ना आवश्यक नपर्ने भए पनि जोखिम समूहका व्यक्तिमा अवस्था जटिल बन्न सक्ने भएकाले स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने मन्त्रालयको सुझाव छ । समयमै उपचार र हेरचाह गरेमा जटिलता कम गर्न सकिने बताइएको छ ।
फ्लू मुख्यतः सङ्क्रमित व्यक्तिले बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्किने साना छिटामार्फत सर्छ । ती छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा वा साससँगै फोक्सोमा पुगेमा भाइरस सर्न सक्छ । त्यस्तै, भाइरस भएको सतह छोएर हातले नाक, मुख वा आँखा छोएमा पनि सङ्क्रमण हुन सक्छ ।
फ्लूका सामान्य लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ तथा मांसपेशी दुख्नु, खोकी र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु तथा अत्यधिक थकान महसुस हुनु पर्दछन् । सबै बिरामीमा ज्वरो देखिनैपर्छ भन्ने छैन ।
फ्लूबाट बच्न बिरामीसँग भौतिक दूरी कायम गर्ने, बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा मुख–नाक छोप्ने, साबुनपानीले नियमित हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने मन्त्रालयले सुझाव दिएको छ । साथै, पौष्टिक खाना खाने, प्रशस्त तरल पदार्थ सेवन गर्ने र शारीरिक रूपमा सक्रिय रहनु पनि फ्लू रोकथामका प्रभावकारी उपाय मानिएको छ ।