नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा बन्द छ। क्यान्सर उपचारका लागि अत्यावश्यक प्रारम्भिक परीक्षण नै रोकिँदा बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्।
रेडियोलोजिस्ट डा. ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि नयाँ डाक्टर नआएसम्म सेवा सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ। कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलका अनुसार पदपूर्ति नहुँदा बिरामीलाई बाहिरबाट एक्सरे गराएर ल्याउनुपर्ने बाध्यता छ।
यसअघि दैनिक १५–२० जनासम्मको भिडियो एक्सरे हुँदै आएको थियो। अहिले भने बिरामीहरू नेपालगन्जसम्म धाउन बाध्य छन्। अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सेवा दिँदै आएको हुँदा समस्या अझ गम्भीर बनेको छ।