काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसममा सामान्य बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई/मधेशका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु वा कुहिरो रहनेछ ।
महाशाखाका अनुसार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहे पनि बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली देखिएको छ भने अन्य पहाडी तथा हिमाली क्षेत्र प्रायः सफा छन् ।
त्यस्तै, कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी तराईका थोरै स्थानमा पनि हुस्सु देखिएको छ । आज राति तराईका केही स्थानमा हुस्सु रहने सम्भावना रहेको छ भने देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाउँदै महाशाखाले बिहान र रातिका समयमा तराई क्षेत्रमा यात्रा गर्नेले हुस्सु/कुहिरोका कारण सावधानी अपनाउन आग्रह गरेको छ ।