काठमाडौँ । गण्डकी प्रदेशमा मातृ स्वास्थ्यका सूचकमा उल्लेख्य सुधार देखिएको छ। नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो। सन् २०३० सम्ममा संस्थागत प्रसूति ९० प्रतिशत पुर्याउने सरकारी लक्ष्य नजिक गण्डकी पुगेको छ।
दक्ष प्रसूतिकर्मीद्वारा हुने जन्मदर पनि गण्डकीमा ८९ प्रतिशत रहेको छ भने राष्ट्रिय औसत ८० प्रतिशत मात्र छ। यस्तै, गर्भवती अवस्थामा चारपटक स्वास्थ्य परीक्षण गराउने महिलाको प्रतिशत ८५ पुगेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो।
स्वास्थ्य सेवामा पहुँच विस्तार, संस्थागत प्रसूति वृद्धि, जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार तथा सचेतना बढेकाले मातृ मृत्युदरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जनगणना २०७८ अनुसार प्रतिलाख जीवित जन्ममा १६२ रहेको मातृ मृत्युदर पछिल्लो आवमा घटेर १३ जनामा सीमित भएको छ।
प्रदेश सरकारले प्रसूति केन्द्र सबलीकरण, शल्यक्रिया सेवा विस्तार र निःशुल्क हवाई उद्धारमार्फत सुरक्षित मातृत्व प्रवर्द्धन गरिरहेको छ। यद्यपि भौगोलिक विकटता र सचेतनाको कमीका कारण केही ग्रामीण क्षेत्रमा अझै घरमै प्रसूति हुने चुनौती कायमै रहेको सरोकारवालाको भनाइ छ।