काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि उपचार खर्चको भुक्तानी नगरेपछि अस्पताल आर्थिक संकटमा परेको भन्दै यस्तो निर्णय लिइएको हो।
अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार स्वास्थ्य बीमा बोर्डको कमजोर व्यवस्थापन, समयमै दाबी भुक्तानी नहुनु र उपचार दररेटमा ठूलो अन्तर रहनु प्रमुख समस्या बनेको छ। अस्पतालले मासिक औसत ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आए पनि बोर्डले करिब ५० प्रतिशत मात्रै दाबी रकम स्वीकृत गर्ने गरेको जनाएको छ। हालसम्म बीमा दाबीबापत झण्डै ४० करोड रुपैयाँ पाउन बाँकी रहेको अस्पतालको दाबी छ।
विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोत प्रयोग गरी दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा व्यहोर्न नसक्ने स्पष्ट पारेको छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समाधान नआएपछि बाध्य भएर स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिनु परेको सूचनामा उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा सुधारको उद्देश्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम नेतृत्वको अकर्मण्यता र नीतिगत असफलताका कारण गम्भीर संकटमा परेको देखिएको छ। टिचिङ अस्पतालजस्तो मुलुककै केन्द्रीय र रेफरल अस्पताल नै बीमा सेवाबाट बाहिरिनुले बीमा बोर्डको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ।
बीमा बोर्डका अध्यक्ष चन्द्र थापा र कार्यकारी निर्देशक रघुराज काफ्लेको कार्यकालमा समस्या समाधान हुन नसक्दा अब लाखौं बीमित नागरिकको उपचार पहुँचमा प्रत्यक्ष असर पर्ने निश्चित देखिएको छ। यस निर्णयले सेवाग्राही, अस्पताल र समग्र स्वास्थ्य प्रणाली थप दबाबमा पर्ने चिन्ता बढेको छ।