काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोग (एनसिडी) को उपचारमा खर्च भइरहेको बताईन।
ललितपुरमा नेपाल एन.सि.डि. एलायन्सले आयोजना गरेको दक्षिण–पूर्वी एसियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै मन्त्री गौतमले अधिकांश नसर्ने रोग रोकथाम गर्न सकिने भए पनि उपचारमै केन्द्रित हुँदा राज्यको अर्थतन्त्रमा ठूलो दबाब परेको बताईन।
उनका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको छ, जसले स्वास्थ्य मात्र नभई मानव संसाधन र अर्थतन्त्रमा समेत गम्भीर असर पारेको छ। त्यसैले अब उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै प्राथमिक स्वास्थ्य सेवामै नसर्ने रोग र मानसिक स्वास्थ्यलाई अनिवार्य रूपमा जोड्नुपर्ने उनको जोड छ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएको वित्तीय खाडलबारे पनि गम्भीर चिन्ता व्यक्त गरिन्। सरकारले बीमाका लागि ११ अर्ब रुपैयाँ बजेट छुट्याए पनि हालसम्मको खर्च २४ अर्ब रुपैयाँ नाघिसकेको उनको भनाइ छ। स्थानीय तहले निःशुल्क दिनुपर्ने आधारभूत स्वास्थ्य सेवामा समेत बीमाको रकम खर्च हुनु र निःशुल्क पाउनुपर्ने औषधिमा प्रिमियम तिर्नु पर्दा दोहोरो आर्थिक भार परेको उनले बताईन।
सम्मेलनमा मानसिक स्वास्थ्यलाई “ओझेलमा परेको महामारी” को संज्ञा दिँदै सरकारले सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरियो। साथै आगामी पाँच वर्षका लागि नसर्ने रोग र मानसिक स्वास्थ्यको प्रगति मापन गर्ने ‘बहु–सरोकारवाला जवाफदेहिता ढाँचा २०२६–२०३०’ सार्वजनिक गरिएको छ।
क्षेत्रीय प्रतिनिधिहरूले चिनीजन्य पेय पदार्थमा कर वृद्धि, सुर्तिजन्य पदार्थ नियन्त्रण र स्वच्छ हावाजस्ता विषयमा साझा पहल आवश्यक रहेको धारणा राखेका छन्। सम्मेलनले दक्षिण–पूर्वी एसियामा नसर्ने रोग र मानसिक स्वास्थ्यको चुनौती सामना गर्न नयाँ प्रतिबद्धता र सहकार्यको बाटो खोल्ने अपेक्षा गरिएको छ।