काठमाडौं । पछिल्लो समय युवामाझ ‘स्टाइलिस’ र ‘कम हानिकारक’ भन्ने गलत बुझाइका कारण हुक्का सेवनको प्रचलन बढ्दै गएको छ। धेरैले हुक्कालाई पानीको बाफ मात्र भनेर सुरक्षित ठान्ने गरे पनि चिकित्सकहरूका अनुसार हुक्का चुरोटभन्दा कम होइन, कतिपय अवस्थामा झन् बढी हानिकारक हुन सक्छ।
हुक्का सुर्तीजन्य पदार्थलाई कोइलाको तापले धुवाँ बनाएर पाइपमार्फत तान्ने माध्यम हो। यसमा प्रयोग हुने सुर्ती, कोइला र विभिन्न फ्लेवरले निस्कने धुवाँ पानीबाट छानेजस्तो देखिए पनि त्यसमा रहेका निकोटिन, कार्सिनोजेनिक तत्त्व, कार्बन मोनोअक्साइड र सूक्ष्म कण सीधै फोक्सोसम्म पुग्ने चिकित्सक बताउँछन्। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका अनुसार सार्वजनिक स्थानमा हुक्का सेवन कानुनी रूपमा प्रतिबन्धित भए पनि क्याफे, रेष्टुरेन्ट र चिया पसलमा यसको प्रयोग बढिरहेको छ।
वरिष्ठ फोक्सो रोग विशेषज्ञहरूका अनुसार एक पटक हुक्का सेवन गर्दा ३० देखि ४५ मिनेटसम्म निरन्तर धुवाँ तानिन्छ, जसले सयवटा चुरोट बराबरको धुवाँ शरीरमा प्रवेश गराउन सक्छ। हुक्काको धुवाँमा कार्बन मोनोअक्साइडको मात्रा चुरोटभन्दा बढी हुने भएकाले यसले मुटुको चाल बढाउने, उच्च रक्तचाप, मुटु रोग र फोक्सोको क्षमतामा कमी ल्याउने जोखिम हुन्छ। दीर्घकालीन रूपमा हुक्का सेवनले फोक्सो, मुख, घाँटी र खाना खाने नलीको क्यान्सर हुने सम्भावना उच्च हुन्छ।
चिकित्सकहरूका अनुसार हुक्कामा प्रयोग गरिने विभिन्न फ्लेवरले सुर्तीको दुर्गन्ध लुकाएर धुवाँलाई आकर्षक बनाउँछ, जसका कारण विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका युवाहरू यसको लतमा पर्न सक्छन्। एउटै पाइप धेरैले प्रयोग गर्दा क्षयरोग, हेपाटाइटिस र फ्लुजस्ता संक्रामक रोग सर्ने जोखिम पनि रहन्छ। गर्भवती महिलाले हुक्का सेवन गर्दा शिशुको तौल कम हुने, समयअगावै जन्मिने र दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूको चेतावनी छ।
स्वास्थ्य विज्ञहरू हुक्कालाई सुरक्षित विकल्प ठान्ने भ्रम त्याग्न र यसको सेवन पूर्ण रूपमा रोक्न आग्रह गर्छन्। हुक्का सामाजिक वा सुगन्धित देखिए पनि यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भएकाले सजगता अपनाउन उनीहरूको सुझाव छ।