काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावसँगै पुसको अन्तिम दिन देशभर जाडो अझ चर्किएको छ । तापक्रम घटेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री नजिक झरेको छ । बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री मापन गरिएको तापक्रम पौने ९ बज्दा घटेर २.३ डिग्री सेल्सियसमा पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार मंगलबारको तुलनामा आज तापक्रम थप घटेको हो । मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो । बिहान पौने ९ बजे काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसमविद्हरूका अनुसार आज तराईका केही स्थानमा बिहान लागेको हुस्सु र कुहिरो दिउँसोतिर क्रमशः हट्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ ।
यद्यपि, राति फेरि तराईका केही स्थानमा हुस्सु लाग्न सक्ने भन्दै बिहान र रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।