काठमाडौं । “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग” भन्ने मूल नाराका साथ एघारौँ राष्ट्रिय योग दिवस–२०८२ आगामी माघ १ गते देशभर भव्य रूपमा मनाइने भएको छ । नेपाल सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णयअनुसार यस वर्ष पनि संघीय, प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समन्वयमा योग दिवसलाई जनस्तरसम्म पुर्याउने लक्ष्य लिइएको छ । दिवसका अवसरमा राजधानीसहित देशभर प्रभातफेरी, औपचारिक समारोह, निःशुल्क योग तथा ध्यान शिविर, अन्तरक्रिया र प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयहरूमा समेत विशेष योग सत्र आयोजना गरी विद्यार्थीहरूलाई स्वस्थ र अनुशासित जीवनशैलीतर्फ प्रेरित गरिने विभागले जनाएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्याम बाबु यादवले योगलाई केवल शारीरिक व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धतिका रूपमा विकास गर्ने उद्देश्य यो दिवसको मुख्य लक्ष्य रहेको बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत देशभरका आयुर्वेद स्वास्थ्य संस्थाबाट नियमित योग सेवा प्रदान हुँदै आएको उनले बताए । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै २१ लाख ९० हजारभन्दा बढी सेवाग्राहीले योग सेवा लिएको तथ्याङ्कले जनविश्वास बढ्दै गएको जानकारि यादवले दिए ।
आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको समाधानमा योग प्रभावकारी माध्यम भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । योगले उच्च रक्तचाप, मधुमेह, मोटोपना जस्ता रोग नियन्त्रणमा सहयोग गर्नुका साथै तनाव घटाएर मानसिक सन्तुलन कायम गर्न मद्दत गर्छ । संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा सुनिश्चित गरेसँगै योग सेवालाई पनि स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा विस्तार गरिएको छ ।
७५३ वटै स्थानीय तहमा स्थापना गरिएका नागरिक आरोग्य सेवा केन्द्र र विद्यालयस्तरीय योग कार्यक्रममार्फत ग्रामीण भेगसम्म योगको पहुँच विस्तार भइरहेको छ । योग दिवसका अवसरमा आयोजना हुने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन सरकारले आम नागरिक, सञ्चारकर्मी र सरोकारवाला निकायलाई आग्रह गरेको छ ।