काठमाडौं । क्यानडाबाट नेपालमा रहेका आफ्ना आफन्त र बुबा–आमालाई भेट्ने ठुलो उत्साहका साथ उप्रेती परिवार झापाको दमक आइपुगेको थियो। जुम्ल्याहा छोराहरूसहित आएको यस परिवारका लागि नेपाल बसाई निकै खुसीयालीपूर्ण थियो। तर, कसैले सोचेको थिएन कि एउटा सानो स्वास्थ्य समस्याले उनीहरूको जीवनमा अँध्यारो बादल मडारिनेछ।
दमकमा रहँदा जुम्ल्याहा छोरामध्ये एकको कानमा समस्या देखिएपछि परिवारले उनलाई नजिकैको अस्पताल लैजाने तयारी गर्दै थिए। तर, सोही क्रममा सडकमा अचानक एक अनियन्त्रित मोटरसाइकलले बालकलाई ठक्कर दियो। त्यो एक क्षणले परिवारको सारा खुसीलाई शोकमा बदल्यो। बालक गम्भीर घाइते भए र उनको अवस्था यति नाजुक थियो कि परिवारले आशा मारिसकेका थिए। मृत्युसँग लडिरहेका छोरालाई लिएर उप्रेती परिवार तुरुन्तै विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल पुगे।
३१ दिनको सङ्घर्ष र आशाको किरण
अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्याउँदा बालकको अवस्था अत्यन्तै चिन्ताजनक थियो। तर, न्यूरो अस्पतालको दक्ष आकस्मिक टोलीले तुरुन्तै उपचार प्रक्रिया सुरु गर्यो। बाँच्ने सम्भावना निकै न्यून भए तापनिवरिष्ठ न्यूरो सर्जन डा सुनिल कुमार दासको नेतृत्वको चिकित्सकहरूको टोलीले हार नमानी बालकको स्वास्थ्य स्थिर बनाउन अहोरात्र खटिए।
त्यसपछि उनलाई न्यूरो आई.सी.यू मा सारियो। जहाँ ३१ दिनसम्म चिकित्सक, नर्स र क्रिटिकल केयर युनिटको अथक प्रयास, आधुनिक प्रविधि र उचित हेरचाहले बिस्तारै चमत्कार देखिन थाल्यो। मृत्युको मुखमा पुगेका ती बालकले नयाँ जीवन पाए।
आमाको भावुक अभिव्यक्ति : तपाईंले पुनर्जन्म दिनुभयो
आफ्नो छोरा निको भएर घर फर्कन लाग्दा उप्रेती परिवारको खुसीको सीमा रहेन। अस्पताल प्रशासन र चिकित्सक टोलीसँग कुरा गर्दै बालककी आमाले गहभरी आँसु पार्दै भनिन्, मैले त यो सन्तानलाई केवल जन्म मात्र दिएकी थिएँ, तर आज तपाईंहरूले मेरो छोरालाई पुनर्जन्म दिनुभयो।
उपचारमा संलग्न चिकित्सक र सम्पूर्ण मेडिकल टोलीप्रति कृतज्ञता व्यक्त गर्दै परिवारले मायाको चिनो समेत प्रदान गरे।
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले पुनः एक पटक जटिल अवस्थाका बिरामीहरूलाई उत्कृष्ट सेवा र विशेषज्ञता मार्फत जीवनदान दिन सफल भएको छ। यो सफलताले अस्पतालको सेवाप्रतिको विश्वास र मानवीय संवेदनालाई थप उचाइमा पुर्याएको छ।