काठमाडौं। नेपाल फर्मा एक्स्पो २०२६ को पहिलो कार्यक्रमअन्तर्गत एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल (एपोन) मार्केटिङ सर्कलद्वारा आयोजित छैठौँ ‘एपोन फुटसल कप २०२६’ सम्पन्न भएको छ। प्रतियोगिता २०८२ साल माघ २ र ३ गते काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा आयोजना गरिएको थियो।
औषधि उद्योगबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नेपालका १६ वटा औषधि उद्योगका टिमहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा एसियन फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स प्रालि, म्याग्नस फर्मा प्रालि, नेशनल हेल्थकेयर प्रालि, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन प्रालि, एसआर ड्रग ल्याबोरेटरीज प्रालि, फार्मोनिक्स लाइफ साइन्सेस प्रालि, पानस फर्मास्युटिकल्स प्रालि, ओम्निका ल्याबोरेटरीज प्रालि, देउराली–जनता फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, क्यूबीडी फर्मास्युटिकल्स प्रालि, नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल), डिभाइन हेल्थकेयर प्रालि र टाइम फर्मास्युटिकल्स प्रालि सहभागी थिए।
पहिलो दिन सुपर १६ र सुपर ८ का खेलहरू सम्पन्न भएका थिए भने दोस्रो दिन सेमिफाइनल र फाइनल खेलहरू खेलाइएका थिए। सेमिफाइनलमा एसियन फर्मास्युटिकल्सले क्यूमेड फर्मुलेसनलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। अर्को सेमिफाइनलमा नेपाल फर्मास्युटिकल्स ल्याब र क्वेस्ट फर्मास्युटिकल्सबीचको खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमा क्वेस्ट फर्मास्युटिकल्स विजयी हुँदै फाइनलमा पुगेको थियो।
फाइनल खेलमा एसियन फर्मास्युटिकल्सले उत्कृष्ट प्रदर्शन गर्दै क्वेस्ट फर्मास्युटिकल्सलाई फराकिलो गोल अन्तरले पराजित गरी उपाधि हात पारेको छ। यससँगै एसियन फर्मास्युटिकल्सले ट्रफी, मेडलसहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता क्वेस्ट फर्मास्युटिकल्सले ट्रफी, मेडलसहित नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ। एसियन फर्मास्युटिकल्स यसअघि पनि पाँचौँ एपोन फुटसल कपको विजेता बनेको थियो।
पुरस्कार वितरण कार्यक्रममा एप्पोनका पूर्व अध्यक्ष शंकर घिमिरे, एप्पोनका अध्यक्ष विप्लव अधिकारी, मार्केटिङ सर्कल को–अर्डिनेटर दिपेश प्रधानलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले खेलकुदले कर्मचारीबीच एकता, स्वास्थ्य र सकारात्मक ऊर्जा बढाउने उल्लेख गर्दै भविष्यमा यस्ता प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगिताको टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको थियो भने उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेस मेडिकल पार्टनर र फास्ट रिलिफ एक्सट्रिम एनर्जी पार्टनरका रूपमा रहेका थिए।