मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा हाल ३० जना कुष्ठरोगी उपचारमा रहेका छन्। प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म ८ नयाँ कुष्ठरोगी पहिचान भएका छन्।
हाल उपचाररतमध्ये १२ महिला र १८ पुरुष छन्। यसै अवधिमा नियमित औषधि सेवनपछि १० जना पूर्ण रूपमा निको भएका छन्। जिल्लाका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा सबैभन्दा बढी ८ जना कुष्ठरोगी छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार कुष्ठरोग कम सर्ने भए पनि समयमै उपचार गरेमा पूर्ण रूपमा निको हुन्छ। सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ।