काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डअनुसार कागजातसहित मात्र भुक्तानी दाबी प्रविष्ट गर्न कडा निर्देशन दिएको छ। मापदण्ड विपरीत र त्रुटिपूर्ण दाबी बढ्दै गएपछि बोर्डले स्वास्थ्य संस्थाहरूमै दाबी पुनरावलोकन समिति गठन गर्न आग्रह गरेको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बीमाबापत पठाइने दाबी विवरणमा धेरै त्रुटि देखिने गरेको छ। यही कारण भुक्तानी प्रक्रिया ढिलो हुनुका साथै अस्वीकृत दर पनि बढेको उनले बताए। स्वास्थ्य बीमा रियल टाइम दाबीसम्बन्धी कार्यविधि–२०८० अनुसार दाबी रुजु तथा मूल्याङ्कन प्रक्रिया सहज बनाउन अब दाबी प्रविष्ट गर्नुअघि संस्थागत रूपमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोर्डले तोकिएको मापदण्ड पूरा नगरेका दाबीको भुक्तानी नहुने स्पष्ट पारेको छ। हाल बोर्डमा दैनिक करिब १० करोड रुपैयाँ बराबरको दाबी पेस हुने गरेको छ भने अहिलेसम्म करिब १२ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको बोर्डको तथ्याङ्क छ।