बैतडी । बैतडी जिल्लामा पछिल्ला वर्षहरूमा कुष्ठरोगका बिरामीको सङ्ख्या क्रमशः घट्दै गएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा जम्मा १६ जनामा मात्र कुष्ठरोग पुष्टि भएको छ ।
कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा १० जना, २०८१/८२ मा ३ जना र २०८२/८३ मा ३ जनामा कुष्ठरोग देखिएको हो । नियमित खोजपड्ताल, समयमै उपचार र समुदायस्तरमा जनचेतना बढेकाले नयाँ बिरामी घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार कुष्ठरोग पहिचान भएलगत्तै निःशुल्क उपचार उपलब्ध गराइँदै आएकाले संक्रमण फैलिन नपाएको हो । यद्यपि सामाजिक भ्रम र डरका कारण अझै पनि केही बिरामी समयमै उपचारमा नआउने समस्या रहेको बताइएको छ ।स्वास्थ्य कार्यालयले छालामा दाग देखिने वा नसासम्बन्धी समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।