काठमाडौँ । निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तयार हुँदै गरेका घोषणापत्रमा स्वास्थ्य क्षेत्रसम्बन्धी दीर्घकालीन र व्यवहारिक कार्यक्रम समावेश गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेको छ ।
अफिनका अध्यक्ष डा. पदम बहादुर खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा विगतमा लोकप्रियताका लागि गरिएका क्षणिक र अव्यवहारिक स्वास्थ्यसम्बन्धी प्रतिबद्धताका कारण आज नागरिक, निजी स्वास्थ्य संस्था र सरकारबीच समस्या देखिएको उल्लेख गरिएको छ । त्यसैले अब दीर्घकालीन असर नपर्ने, अनुसन्धानमा आधारित र सबै सरोकारवालालाई समेट्ने कार्यक्रम ल्याउन दलहरूलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा देशभर ठुलो लगानीमा स्थापना भएका मेडिकल कलेज र अस्पताललाई समेत सहभागी गराई निजी स्वास्थ्य संस्थालाई सक्षम बनाउने नीति आवश्यक रहेको जनाइएको छ । साथै, वार्षिक करिब ७५ लाख नागरिकलाई सेवा दिइरहेका निजी स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखी प्रशासनिक तथा कानुनी झन्झट घटाउने, सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा कार्यक्रम ल्याउने र स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय हब बनाउने योजना घोषणापत्रमा समेट्न अफिनले आग्रह गरेको छ ।
