काठमाडौं। रौतहट र पाल्पामा पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गएको छ । ७३औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा सम्बन्धित स्वास्थ्य कार्यालयहरूले जिल्लामा नयाँ कुष्ठरोगी थपिएको जानकारी दिएका हुन् ।
रौतहटमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ३२ जना नयाँसहित कुल १६७ जना कुष्ठरोगी फेला परेका छन् । यमुनामाई गाउँपालिका, कटहरिया र माधवनारायण नगरपालिका प्रभावित क्षेत्रका रूपमा देखिएका छन् ।
यस्तै, पाल्पामा पछिल्लो छ महिनामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यससँगै जिल्लामा हाल कुष्ठरोगीको संख्या १७ पुगेको छ । सबै बिरामीको उपचार जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाबाट भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मीहरूले कुष्ठरोग समयमै पहिचान र नियमित औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भएकाले लुकाउने प्रवृत्ति त्यागी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गरेका छन् । औषधि उपचार नेपालभर निःशुल्क उपलब्ध रहेको जनाइएको छ ।