काठमाडौं। सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । यही महिनाको तेस्रो सातादेखि सुरु हुने अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकालाई खोप लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
कक्षा ६ मा पढ्ने ११ र १२ वर्ष उमेर समूहका छात्राले पनि खोप पाउनेछन् । गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षसम्मका किशोरीलाई यसपटक समेटिने जनाइएको छ । सरकारले फागुनको पहिलो हप्तासम्म लक्षित समूहलाई खोप लगाइसक्ने तयारी गरेको छ ।
यस वर्ष करिब तीन लाख ५० हजार बालिकालाई एचपिभी खोप लगाइनेछ । गाभीको सहयोगमा चीनबाट ल्याइएको खोप प्रयोग गरिने जनाइएको छ । स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपिभी संक्रमण भएकाले समयमै खोप लगाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।