काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमको सही र जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डले सर्वसाधारणलाई अपिल गरेको छ । बोर्डले सार्वजनिक अपिल जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दबाब नदिन आग्रह गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बोर्डले सीमित स्रोतसाधनका बाबजुद दैनिक करिब ५० हजार नागरिकले यस कार्यक्रममार्फत स्वास्थ्य सेवा पाइरहेको जनाएको छ । यसबाट दैनिक औसत आठ करोड रुपैयाँ बराबरको खर्च आम नागरिकको गोजीबाट जोगिँदै आएको बोर्डको भनाइ छ ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण र उपचार गर्न तथा प्रचलित कानुन, निर्देशिका र कार्यविधिको पालना गर्न अनुरोध गरेको छ । यसले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
स्वास्थ्य बीमा सेवा लिँदा देखिएका असहजता तथा अस्थायी रूपमा सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थालाई पुनः सञ्चालनमा ल्याउन निरन्तर पहल भइरहेको बोर्डले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप सशक्त, प्रभावकारी र नागरिकमैत्री बनाउने प्रतिबद्धता बोर्डले दोहोर्याएको छ ।