चितवन । चालु आर्थिक वर्षको हालसम्म चितवन जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षय–कुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये ८१ जनाले छ महिनाको औषधि सेवन पूरा गरिसकेका छन् भने ३९९ जना हाल नियमित उपचारमा रहेका छन् । उनीहरू जिल्लाभर रहेका १०७ वटा औषधि वितरण केन्द्रबाट निःशुल्क औषधि सेवन गरिरहेका छन् ।
क्षयरोगको पहिचानका लागि जिल्लामा ३२ वटा परीक्षण केन्द्र सञ्चालनमा छन्, जसमा २८ वटा माइक्रोस्कोप सेवा र चार वटा जिनएक्सपर्ट प्रविधियुक्त केन्द्र रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ८९ जनामा क्षयरोग देखिएको थियो ।
क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट हुने रोग हो । दुई हप्ताभन्दा बढी खोकी, ज्वरो र कमजोरी देखिए तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।