काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण बदली रहनेछ भने पहाडी र तराईका अन्य भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, मधेस र कोशी प्रदेशका पहाडी भू–भाग तथा कोशीको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ । हिमपात र वर्षाका कारण जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, मुस्ताङ जिल्लामा मङ्गलबार रातिदेखि भारी हिमपात हुँदा कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । कतिपय स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातपछि स्याउ, उवा, फापर, जौँ र आलुजस्ता बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाले जनाएको छ ।
हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि बाक्लो हिमपात भइरहेको छ । हुम्लाको सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातका कारण हवाई सेवा तथा लिमी, न्यालु, यारी र हिल्सा सडक अवरुद्ध भएका छन् ।
बाजुरा, बैतडी, बागलुङ र ढोरपाटन क्षेत्रका उच्च पहाडी भू–भागमा पनि भारी हिमपात भएको छ । हिमपातले चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ भने किसानहरू गहुँलगायत हिउँदे बाली राम्रो हुने आशामा खुसी देखिएका छन् ।
बागलुङ र रुकुम पूर्वको सिमाना क्षेत्रमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । रुकुम पूर्व प्रशासनले अत्यावश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।
मनाङ जिल्लाको माथिल्लो भू–भागमा निरन्तर हिमपात भइरहेकाले प्रशासनले पदयात्रामा निस्कने पर्यटकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । रसुवा, गोरखा र अन्य हिमाली जिल्लामा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
प्रशासन र सुरक्षानिकायले मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न तथा जोखिम न्यूनीकरणमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन्