काठमाडौँ । हालसम्म नेपालमा निपाह भाइरस पुष्टि नभए पनि जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार विमानस्थल, सीमा नाका र स्वास्थ्य संस्थाहरूमा निगरानी बढाइएको छ।
सरुवारोग विशेषज्ञका अनुसार निपाह भाइरस चमेरा हुँदै सुँगुर तथा मानिसमा सर्ने गर्दछ। ज्वरो, टाउको दुखाइ, श्वासप्रश्वासमा समस्या देखिनु यसको प्रमुख लक्षण हुन्।
समयमै उपचार नपाए मृत्युदर ४०–७० प्रतिशतसम्म पुग्न सक्ने डब्लुएचओको चेतावनी छ। हालसम्म यसको खोप वा निश्चित उपचार छैन। चिकित्सकहरूले फलफूल राम्ररी पखालेर खाने, पानी उमालेर पिउने, मास्क प्रयोग गर्ने र व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।