सर्लाही । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगको सङ्क्रमण देखिएपछि विशेष अभियानमार्फत औषधि खुवाइँदैछ। स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाका केही पालिकामा रोग फैलिने क्रम नरोकिएपछि विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा आम औषधि सेवन अभियान सुरु गरिएको हो।
गत असोजमा गरिएको परीक्षणमा जिल्लाका दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइले रोगको सङ्क्रमण दर १।८ प्रतिशतसम्म पुगेको पाइएको थियो। बलरा, चक्रघट्ट र ब्रह्मपुरीमा संकलन गरिएका ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण देखिएको थियो भने पाँच जना सक्रिय सङ्क्रमित फेला परेका थिए।
अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई तालिम दिएर घरघरमै औषधि खुवाइँदैछ। दुई वर्षभन्दा माथिका सबैलाई औषधि सेवन गराइने र करिब चार लाख ३० हजार जनालाई समेट्ने लक्ष्य लिइएको छ। समयमै औषधि सेवन गरे हात्तीपाइले रोग नियन्त्रण सम्भव हुने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।