पर्वत । लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल आर्थिक सङ्कटमा परेको छ। अस्पतालले स्वास्थ्य बिमा र डायलायसिस सेवाबापत तीन करोड रुपैयाँभन्दा बढी रकम अझै प्राप्त गर्न सकेको छैन।
प्रदेश अस्पताल पर्वतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। ढुण्डीराज पौडेलका अनुसार गत आर्थिक वर्षदेखि सरकारले भुक्तानी दिन ढिलाइ गर्दा औषधि खरिद, उपकरण व्यवस्थापन, कर्मचारी तलब–भत्ता तथा नियमित सेवामा प्रत्यक्ष असर परेको छ। पटक–पटक माग गर्दा पनि सुनुवाइ नहुँदा समस्या झन् गहिरिँदै गएको उनले बताए।
जिल्लामा स्वास्थ्य बिमामा आबद्ध करिब ४५ प्रतिशत नागरिक यही अस्पतालमा उपचारका लागि आउने गरेका छन्। तर भुक्तानी नआउँदा औषधि, ल्याब सेवा र सहायक सामग्री उपलब्ध गराउन कठिन हुँदै गएको अस्पतालको भनाइ छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले स्वास्थ्य बिमा बोर्डमार्फत मन्त्रालयमा बिल पेश भए पनि रकम नआएकाले सेवा सञ्चालन नै जोखिममा परेको बताए। केही दिनअघि स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाइए पनि समस्या समाधान हुन सकेको छैन।