भक्तपुर। बागमती प्रदेश सरकारले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा सञ्चालन गर्ने उद्देश्यले २०७५ सालमै स्थापना गरिएको प्रयोगशाला जग्गा अभावका कारण सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयको खाली भवनमा सोमबारदेखि सेवा सुरु गरिएको हो।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले रगत परीक्षण गराएर प्रयोगशालाको औपचारिक उद्घाटन गरेका छन्। उनका अनुसार सिपाडोलको ‘भाइरल प्लानिङ’ क्षेत्रमा पाँच रोपनी जग्गा उपलब्ध गराइएकाले अब ११ करोड रुपैयाँको लागतमा अत्याधुनिक भवन निर्माण गरिनेछ।
प्रयोगशालाले बागमती प्रदेशका १३ वटै जिल्लामा सेवा दिनेछ। यहाँ क्यान्सर, मिर्गौला, कलेजो, लिपिड प्रोफाइल, पिसिआर, एचआइभी, टिबी, एचपिभीलगायत ९६ प्रकारका परीक्षण हुनेछन्। सेवाग्राहीले क्युआर कोडमार्फत मोबाइलमै रिपोर्ट प्राप्त गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।