काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको जोखिमबारे सचेत रहन आग्रह गर्दै नागरिकलाई अनावश्यक रूपमा नआत्तिन अनुरोध गरेको छ।
छिमेकी देशहरूमा देखिएका केही घटनालाई ध्यानमा राख्दै मन्त्रालयले आवश्यक पूर्वतयारी र निगरानीका सबै प्रक्रिया अघि बढाइएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसको विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रमा जोखिम न्यून रहेको मूल्याङ्कन गरे पनि सम्भावित जोखिम न्यूनीकरणका लागि देशभरका स्वास्थ्य संस्थालाई सतर्क बनाइएको मन्त्रालयको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत परीक्षण, पहिचान र प्रतिकार्यको तयारी पूरा गरिएको छ।
मन्त्रालयका अनुसार दूषित फलफूल, जनावरसँगको असुरक्षित सम्पर्क तथा सङ्क्रमित व्यक्तिको नजिकको सम्पर्कबाट निपाह भाइरस सर्न सक्छ। फलफूल राम्ररी पखालेर खाने, सफा पानी प्रयोग गर्ने, मास्क लगाउने र हात धुनेजस्ता सावधानी अपनाउन आग्रह गरिएको छ।
शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।