काठमाडौं। देउराली–जनता फार्मास्युटिकल्स प्रालिले औषधि उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ।
उद्योगले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त परियोजनाका लागि ४ अर्ब ७५ करोड रुपैयाँ थप लगानी गर्ने घोषणा गरेको हो।
देउराली–जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए। शर्माका अनुसार परियोजना सम्पन्न भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुनेछ।

देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो। हाल कम्पनीले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ। अन्तर्राष्ट्रिय स्तरका डब्लुएचओ–जिएमपी, आइएसओ–९००१ र आइएसओ–१४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याइरहेको कार्यक्रमका क्रममा वितरण गरिएको प्रेस वक्तव्यमा उल्लेख छ।
कम्पनीका अनुसार नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने विश्वास लिइएको छ। देउराली–जनताले यस परियोजना सफल बनाउन नेपाल सरकार, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूको सहयोग र सहकार्यको अपेक्षा गरेको छ।
कार्यक्रममा बोल्दै डीजेपीएलका निर्देशक सुरजभक्त पौडेलले औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादन क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि सयौँ औषधिहरू नेपालमै पहिलो पटक विकास र उत्पादन गरी सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेको बताए।
उनले कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवनरक्षक औषधिहरू तथा विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधिहरूको अनुसन्धान, उत्पादन तथा गुणस्तर निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखानाबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि नेपाली जनतालाई उपलब्ध गराइरहेको बताए।
देउराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि भित्र्याउने पहिलो र एकमात्र उद्योगको रूपमा स्थापित भएको उल्लेख गर्दै निर्देशक पौडेलले कुशल उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण तथा वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने आइएसओ–९००१, आइएसओ–१४००१ र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रदान गरिने डब्लुएचओ–जिएमपी प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनी भएको बताए।
त्यसैगरी विज्ञानमा आधारित, गुणस्तर र सत्यनिष्ठाबाट प्रमाणित कार्यदिशाको मर्म आत्मसात गर्दै औषधि उत्पादनमा आत्मनिर्भर बन्ने तथा विश्व बजारमा नेपाली औषधिको निर्यात सम्भावनालाई साकार पार्ने दिशामा कम्पनी निरन्तर अग्रसर रहेको उनले बताए।
यस अविरल यात्रामा सहयोग पुर्याउँदै आएका चिकित्सकहरू, औषधि व्यवसायीहरू, सञ्चारकर्मीहरू, व्यावसायिक साझेदारहरू, स्वास्थ्यसँग सम्बन्धित सरकारी तथा स्थानीय निकायका पदाधिकारीहरू तथा कम्पनीका सबै शुभेच्छुकहरूप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ। साथै, आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै निरन्तर परिश्रम गर्ने वैज्ञानिक, प्राविधिक तथा सबै तहका कर्मचारीहरूप्रति पनि आभार प्रकट गरिएको छ।
नयाँ परियोजनाबारे जानकारी दिँदै उद्योगका अर्का निर्देशक आयुषभक्त पौडेलले उत्पादन विविधीकरण र उत्पादन क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए। उक्त प्रस्तावित परियोजनामा थप ४७५ करोड रुपैयाँ लगानी गरी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको र परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उनले बताए।
मानव संशाधन विभागकी दिवा भट्टराईले सञ्चालन गरेको पत्रकार सम्मेलनमा देउराली–जनता फार्मास्युटिकल्स प्रालिका अध्यक्ष दुर्गा उपाध्याय, वरिष्ठ उपाध्यक्ष, सेल्स एण्ड मार्केटिङ विभाग प्रमुख निगमराज अधिकारी, अनुसन्धान तथा विकास केन्द्र प्रमुख उपाध्यक्ष डा. चिनमय आनन्द, गुणस्तर कार्यक्षेत्र प्रमुख जेनरल म्यानेजर शैलेन्द्र तिवारी, उत्पादन विभाग प्रमुख जेनरल म्यानेजर जितेन्द्र तिवारी, इन्जिनियरिङ प्रोजेक्ट म्यानेजमेन्ट जेनरल म्यानेजर अमोल मुकुन्द वाग्देओ, इन्जिनियरिङ विभाग प्रमुख जेनरल म्यानेजर गणेश लक्ष्मण चौधरी, रेगुलेटरी अफेयर्स जेनरल म्यानेजर जगदिश चन्दर तथा मार्केट प्लानिङ विभाग प्रमुख असद कामरानलगायतको उपस्थिति रहेको थियो।