पर्वत जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।
यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्णरूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई आग्रह गर्नुभयो । उहाँका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ ।