विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलले ‘निपाह भाइरस र यसको रोकथाम’ विषयमा सचेतना कार्यक्रम आयोजना गरेको छ। छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिन थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्पतालले आफ्ना कर्मचारीहरूलाई पूर्वतयारी र सतर्कताका लागि उक्त कार्यक्रम सञ्चालन गरेको हो।
अस्पताल परिसरमा सम्पन्न कार्यक्रमको सहजीकरण नर्सिङ सुपरभाइजर सृजना सिंहले गर्नुभएको थियो। कार्यक्रममा अस्पतालका विभिन्न विभागमा कार्यरत अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा निपाह भाइरस के हो, यो कसरी सर्छ, यसका प्रमुख लक्षणहरू के–के हुन् तथा स्वास्थ्य संस्थामा काम गर्दा अपनाउनुपर्ने सावधानीका उपायहरूबारे विस्तृत जानकारी दिइएको थियो। सहजीकरणका क्रममा व्यक्तिगत सरसफाइ, सुरक्षा सामग्रीको सही प्रयोग, संक्रमण नियन्त्रणका मापदण्ड र सम्भावित शंकास्पद अवस्थाको पहिचानमा विशेष जोड दिइएको थियो।
अस्पतालले यस्ता सचेतनामूलक कार्यक्रममार्फत सेवाग्राही र स्वास्थ्यकर्मी दुवैको सुरक्षालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। कार्यक्रममा सहभागी कर्मचारीहरूले समयानुकूल तालिमले कार्यस्थलमा आत्मविश्वास र सुरक्षा भावना बढाएको प्रतिक्रिया दिएका छन्।
विगत २५ वर्षदेखि निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उक्त अस्पतालले भविष्यमा पनि जनशक्ति क्षमता अभिवृद्धि तथा जनस्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।