वीरगञ्ज । वीरगञ्जका आँखा अस्पतालहरू भारतीय आँखाका बिरामीहरूको प्रमुख उपचार केन्द्र बन्दै गएका छन्। छिमेकी मुलुक भारतका बिहार, झारखण्ड, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट दैनिक सयौँको सङ्ख्यामा आँखा रोगीहरू उपचारका लागि वीरगञ्ज आउने गरेका छन्।
नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य श्याम पोख्रेलका अनुसार नेपालका आँखा अस्पतालमा गुणस्तरीय, प्रभावकारी र किफायती सेवा उपलब्ध भएकाले भारतीय बिरामीहरू यहाँ आकर्षित भएका हुन्। हाल वीरगञ्जमा केडिया आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, किरण आँखा अस्पताल र माट्रिका सामुदायिक आँखा अस्पताललगायत आधा दर्जनभन्दा बढी आँखा अस्पताल सञ्चालनमा छन्।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा। महेश सिंह धामीका अनुसार आर्थिक वर्ष ०८२/०८३ को सात महिनामा मात्रै २ हजार ३ सय ३४ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ। केडिया आँखा अस्पतालमा दैनिक ३ सयदेखि ४ सय भारतीय बिरामी आउने गरेको अस्पतालका सञ्चालक सञ्जय केडियाले जानकारी दिनुभयो। गुणस्तरीय उपचार र समान शुल्क नीतिका कारण वीरगञ्जका आँखा अस्पतालहरू सीमापारिका बिरामीका लागि भरपर्दो केन्द्र बन्दै गएका छन्।