ललितपुर । नेपालमा बढ्दो स्वासप्रश्वास (छाती) सम्बन्धी रोगलाई लक्षित गर्दै ललितपुर महानगरपालिका–१३, मानभवनमा “नेशनल चेष्ट सेन्टर” स्थापना गरिएको छ। स्वासप्रश्वास रोगका बिरामीलाई एउटै छानामुनि विशेषज्ञ, गुणस्तरीय तथा सहुलियत दरमा सेवा उपलब्ध गराउने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ।
नेपालमा पहिलोपटक स्वासप्रश्वास रोगमा केन्द्रित भई बहुआयामिक सेवा दिने छुट्टै चेष्ट सेन्टर स्थापना भएको दाबी गरिएको छ। यसअघि फोक्सो तथा छातीसम्बन्धी रोगका लागि पूर्ण रूपमा समर्पित अलग केन्द्रको अभाव रहेको अवस्थामा यस संस्थाले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
विश्व स्वास्थ्य संगठन (wHO) का अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस विभिन्न प्रकारका स्वासप्रश्वास रोगबाट प्रभावित हुने गरेका छन्। दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (COPD), दम, निमोनिया, क्षयरोग तथा अन्य फोक्सोसम्बन्धी रोगले विश्वव्यापी रूपमा ठूलो जनस्वास्थ्य चुनौती सिर्जना गरिरहेका छन्। सिओपीडी मात्र पनि विश्वभर लाखौँ मानिसको मृत्युको कारण बन्ने गरेको तथ्यांकले देखाउँछ।
नेपालमा पनि स्वासप्रश्वास रोग गम्भीर समस्याका रूपमा देखिएको छ। विभिन्न अध्ययनका आधारमा करिब १० देखि १२ प्रतिशत वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन स्वासप्रश्वास समस्या रहेको अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनअनुसार कुल मृत्युको झण्डै ९–१० प्रतिशत हिस्सा सिओपीडीलगायत दीर्घकालीन फोक्सो रोगसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।
विशेषज्ञहरूका अनुसार कोभिड–१९ महामारीपछि स्वासप्रश्वास समस्या झन् बढेको छ। संक्रमण निको भएपछिसमेत धेरै व्यक्तिमा लामो समयसम्म सास फेर्न गाह्रो हुने, छाती भारी हुने, दीर्घकालीन खोकी लागिरहने तथा फोक्सोको कार्यक्षमता घट्ने समस्या देखिएको छ, जसलाई ‘लङ कोभिड’ भनिन्छ।

यसैबीच, काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणले पनि स्वासप्रश्वास रोगलाई थप जटिल बनाइरहेको वरिष्ठ छाती रोग विशेषज्ञ डा राजु पंगेनी भनाइ छ। सवारी साधनको चाप, निर्माण कार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा फोहर दहनजस्ता कारणले वायु गुणस्तर कमजोर बन्दै गएको छ। ग्रामीण क्षेत्रमा दाउरा तथा जैविक इन्धनको प्रयोगबाट हुने भित्री धुँवाले पनि महिला र बालबालिकामा स्वासप्रश्वास समस्या बढाएको उनले बताए ।
सुर्तीजन्य पदार्थको प्रयोग अर्को प्रमुख जोखिम कारकका रूपमा रहेको छ। चुरोट, बिँडी तथा अन्य तम्बाकुजन्य पदार्थको सेवनले सिओपीडी, फोक्सोको क्यान्सर तथा मुटुरोगको जोखिम बढाउने चिकित्सकहरू बताउँछन्।

यस्ता चुनौतीलाई ध्यानमा राख्दै स्थापना गरिएको नेशनल चेष्ट सेन्टरमा फोक्सोको कार्यक्षमता परीक्षण ,डिजिटल एक्स–रे, एलर्जी तथा दम परीक्षण, सिओपीडी र क्षयरोग उपचार, कोभिडपछिको फोक्सो परीक्षण क्लिनिक, धूम्रपान त्याग परामर्श, अत्याधुनिक प्रयोगशाला सुविधा तथा आफ्नै फार्मेसी सेवा उपलब्ध गराइएको छ।
केन्द्रका अनुसार बिरामीले एउटै स्थानबाट परामर्श, परीक्षण, औषधि र नियमित फलोअप सेवा पाउने व्यवस्था मिलाइएको छ, जसले समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।
उपचारसँगै रोकथाम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत केन्द्रले लिएको छ। विद्यालय, कलेज तथा समुदाय स्तरमा स्वासप्रश्वास रोगसम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
बढ्दो प्रदूषण, बदलिँदो जीवनशैली र महामारीपछिको अवस्थाले नेपालमा स्वासप्रश्वास रोगलाई गम्भीर चुनौतीका रूपमा उभ्याइरहेको सन्दर्भमा मानभवनस्थित नेशनल चेष्ट सेन्टरले काठमाडौं उपत्यकासहित देशभरका बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।