दमौली । सदरमुकाम दमौलीस्थित प्रदेश अस्पताल दमौलीमा डिजिटल मेडिकल रेकर्ड तथा जाँच प्रक्रिया सुरु गरिएको छ। अस्पतालले बिरामीको सम्पूर्ण विवरण र परीक्षण कम्प्युटर प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो।
प्रारम्भिक चरणमा रहेकाले बिरामी र स्वास्थ्यकर्मीलाई तालिम दिइँदै छ। यस कारण केही समय सेवा प्रवाहमा ढिलासुस्ती हुन सक्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेले जानकारी दिनुभयो। डिजिटल प्रणाली लागू भएपछि कागजी झन्झट घट्ने र बिरामीको विवरण एक क्लिकमै हेर्न सकिने अपेक्षा गरिएको छ।
अस्पतालमा तनहुँसहित लमजुङ, गोरखा र कास्कीबाट पनि बिरामी आउने गरेका छन्। पछिल्ला वर्षहरूमा सेवाग्राहीको संख्या क्रमशः बढ्दै गएको अस्पतालले जनाएको छ।