काठमाडौँ । महिलाहरूको स्वास्थ्य, फिटनेस र आत्म–सचेतनामा ध्यानाकर्षण गराउने उद्देश्यले यही फागुन ३० गते ९मार्च १४० ‘काठमाडौं पिंक केयरएथन’ आयोजना हुने भएको छ । राजधानी काठमाडौंमा हुने उक्त कार्यक्रम लेजर पोर्ट नेपाल को आयोजनामा हुन लागेको हो ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष नमराज जोशीले महिलाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार घरायसी कामकाज र दैनिकीमा व्यस्त महिलाहरूले आफ्नै स्वास्थ्यका लागि पनि समय निकाल्नुपर्छ भन्ने सन्देश फैलाउन केयरएथन सञ्चालन गर्न लागिएको हो ।
कार्यक्रममा महिलाहरूको दौड प्रतियोगितासँगै जुम्बा, संगीत कार्यक्रम तथा विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधिहरू समावेश गरिनेछ । जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । यस वर्ष करिब २,५०० देखि ३,००० महिलाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
कार्यक्रमकी सद्भावना दूतका रूपमा चर्चित कलाकार उषा रजक लाई चयन गरिएको छ । उनले महिला स्वास्थ्यका लागि परिवारका सबै सदस्यको सहयोग र प्रेरणा आवश्यक हुने बताइन् । त्यस्तै, राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठ ले पिंक केयरएथन व्यावसायिक खेलाडीका लागि मात्र नभई हरेक महिलाका लागि अभियानका रूपमा अघि बढिरहेको उल्लेख गरिन् ।
सन् २०१७ देखि २०१९ सम्म निरन्तर आयोजना हुँदै आएको कार्यक्रम कोभिड–१९ महामारीपछि रोकिएको थियो । सन् २०२४ मा पुनः सुरु गरिएको यो इभेन्टलाई २०२६ मा अझ व्यापक सहभागितासहित निरन्तरता दिने लक्ष्य आयोजकको छ ।