काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदातालाई आवश्यक परे आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई समन्वय गर्न आग्रह गरिएको छ।
निर्वाचन स्वच्छ र भयरहित बनाउन मतदानको दिनअघि र पछिसहित तीन दिन सार्वजनिक बिदा दिने निर्णय पनि भइसकेको आयोगले जनाएको छ।