काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लागू गरेको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको कारोबार र प्रयोग निषेध गरिएको हो। आयोगका अनुसार फागुन १४ गतेदेखि लागू भएको यो प्रतिबन्ध निर्वाचनको अन्तिम नतिजा सार्वजनिक नहुँदासम्म कायम रहनेछ।
यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने भएको छ। निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका, २०७८ बमोजिम गरिएको यो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छ।
यसैबीच, निर्वाचन सुरक्षालाई थप कसिलो बनाउन फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसारमा समेत रोक लगाइएको छ। ‘मौन अवधि’ मा आचारसंहिता उल्लङ्घन गर्ने वा मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउनेलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको छ।
त्यस्तै, मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लाग्नेछ। आयोगले मदिरा नियन्त्रणदेखि यातायात व्यवस्थापनसम्मका सबै सुरक्षा तयारी पूरा भइसकेको जनाएको छ।