काठमाडौँ । नेपाल सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा खटिने सुरक्षाकर्मी र निर्वाचन प्रहरी घाइते भए उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन अवधिमा घाइते हुने प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिए। सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने पनि निर्णय गरिएको छ।
सरकारले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साथै, चीन सरकारबाट प्राप्त हुने चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत भएको छ। बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्नुका साथै केही जलविद्युत् आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ।