काठमाडौँ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले नेपाललाई आगामी पाँच वर्षभित्र औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सकिने दाबी गरेका छन्।
स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाल फर्मा एक्स्पो तथा औषधिमा आत्मनिर्भरता : नीतिगत सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले औषधि ऐन २०३५ परिमार्जन गरेर उद्योगमैत्री बनाइएमा देशलाई औषधिमा ८० प्रतिशतसम्म आत्मनिर्भर बनाउन सकिने बताए। उनका अनुसार अहिलेको ऐन आयातमुखी भएकाले स्वदेशी औषधि उद्योगलाई पर्याप्त प्रोत्साहन मिल्न सकेको छैन।
कार्यक्रममा ललितपुर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले गुणस्तरीय औषधि नागरिकको पहुँचमा पुग्नुपर्ने बताउँदै औषधि र स्वास्थ्य सेवा कम गुणस्तरीय उपलब्ध गराउनु अपराधसरह हुने धारणा राखिन्। उनले औषधि महँगो भएकै कारण हरेक वर्ष करिब पाँच लाख मानिस गरिबीको रेखामुनि पर्ने गरेको उल्लेख गरिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले पनि औषधि ऐन संशोधन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले स्वास्थ्य बीमा कार्यक्रममार्फत सम्भव भएसम्म स्वदेशमै उत्पादित औषधि प्रयोग गर्नुपर्नेमा जोड दिए।
त्यस्तै राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भरतप्रसाद भट्टराईले औषधिको गुणस्तर सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्ने बताए। नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वलजंग पाण्डेले नीतिगत सुधार र प्राविधिक क्षमता अभिवृद्धि भए नेपाली औषधि उद्योगले ठूलो उपलब्धि हासिल गर्न सक्ने धारणा राखे।
कार्यक्रममा औषधि व्यवस्था विभाग, औषधि उद्योगी तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाले स्वदेशी औषधि उद्योगको विकासका लागि नीतिगत सुधार, गुणस्तर नियन्त्रण र जनचेतना अभिवृद्धिमा जोड दिएका थिए।