काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा १०औँ फार्मा एक्स्पो काठमाडौँको भृकुटीमण्डप मा सुरु भएको छ। “फार्मामा नवीनतास् भोलिको स्वास्थ्यका लागि” भन्ने नारासहित आयोजना गरिएको प्रदर्शनी फागुन २८ देखि ३० गतेसम्म तीन दिन सञ्चालन हुनेछ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमबाट भएको छ। एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रदर्शनीमा २०० भन्दा बढी स्टलहरू राखिएका छन् भने करिब ९० प्रतिशत विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा औषधि उत्पादनका लागि आवश्यक नयाँ कच्चा पदार्थ, आधुनिक प्याकेजिङ प्रविधि र अत्याधुनिक मेसिनरी प्रदर्शन गरिएको छ। साथै स्वदेशी औषधि उद्योगका उत्पादन र प्रगति पनि प्रस्तुत गरिएको छ।
औषधि ऐन २०३५ परिमार्जन गरेर उद्योगमैत्री बनाइएमा देशलाई औषधिमा ८० प्रतिशतसम्म आत्मनिर्भर बनाउन सकिने संघका अध्यक्ष विप्लव अधिकारीको भनाई छ । आयोजकका अनुसार एक्स्पोको मुख्य उद्देश्य नेपालमै विश्वस्तरीय औषधि उत्पादन सम्भव छ भन्ने विश्वास बढाउनु, औषधि क्षेत्रमा नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नु र नेपाली औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु हो।
एक्स्पोको उद्घाटनअघि प्रदर्शनी स्थलबाट प्रभातफेरि (वाकाथोन) समेत आयोजना गरिएको थियो। आयोजकले यो प्रदर्शनीले नेपालको औषधि उद्योगको क्षमता, प्रविधि र सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।
फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ।