काठमाडौं । नेपाल फर्मा एक्स्पोको दशौँ संस्करण ‘नेपाल फर्मा एक्स्पो २०२६’ बिहीबारदेखि काठमाडौंमा जारी छ। भृकुटीमण्डपमा सञ्चालन भइरहेको एक्स्पोमा नेपाली औषधि उद्योगको वर्तमान अवस्था, ज्ञान र प्रविधिसम्बन्धी सामग्रीहरूको प्रदर्शनी भइरहेको छ।
एक्स्पोको दोस्रो दिन औषधि उद्योगीहरू आफ्ना औषधि, उपकरण, ल्याब मेशिनरी लगायतका सामग्री प्रदर्शनमा व्यस्त देखिएका थिए। औषधि क्षेत्रमा भएका विकास र प्रविधिबारे जानकारी दिने उद्देश्यले नेपाल औषधि उत्पादक संघ ९एपोन० ले नियमित रूपमा फर्मा एक्स्पो आयोजना गर्दै आएको हो। एक्स्पोमा २०० भन्दा बढी स्टलहरू राखिएका छन्। ती स्टलहरूमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्री र विभिन्न मेसिनरीहरूको प्रदर्शन गरिएको छ।
संघका अध्यक्ष विप्लव अधिकारीले नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधिसहित विश्व बजारका नयाँ उपकरण, विधि र प्रणालीबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताए। उनले एक्स्पोमार्फत नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखिएको बताए। साथै विश्व बजारमा प्रयोग भइरहेका नवीन प्रविधि र प्रणालीलाई नेपाली औषधि उद्योगसँग जोड्ने उद्देश्य पनि रहेको जनाए।
अधिकारीका अनुसार एक्स्पोमार्फत स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरूको पनि प्रदर्शन गरिएको छ। यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ।
संघका महासचिव सन्तोष बराल का अनुसार पहिलो दुई दिनमै ९आज दिउँसो १ बजेसम्म० करिब ४ हजार ५ सयभन्दा बढीले एक्स्पोको अवलोकन गरिसकेका छन्। शुक्रबार विद्यार्थी, चिकित्सक तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति उल्लेख्य रहेको उनले बताए। उनका अनुसार एक्स्पोमा कुल १० हजारभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ।
उनका अनुसार अघिल्ला संस्करणहरू चितवनमा आयोजना हुँदै आएको भए पनि यसपटक काठमाडौंमा आयोजना गर्दा दर्शकको सहभागिता बढी देखिएको छ। साथै सरकारले पनि प्रत्यक्ष रूपमा चासो देखाएको कारण आगामी दिनमा नेपालमा आयात हुने केही औषधिहरू स्वदेशमै उत्पादन गर्ने तथा उत्पादनपछि निर्यात गर्ने सम्भावनामा सहयोग मिल्ने अपेक्षा उद्योगीहरूले गरेका छन्।
बरालका अनुसार एक्स्पोमा करिब ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको रहेको छ। प्रदर्शनी सर्वसाधारणका लागि निःशुल्क खुला राखिएको छ। साथै एक्स्पोमार्फत सरोकारवाला तथा सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन सम्भव छ भन्ने विश्वास दिलाउने उद्देश्य रहेको महासचिव बरालले बताए।
तीन दिनसम्म सञ्चालन हुने एक्स्पो शनिबारसम्म जारी रहनेछ।


