काठमाडौँ । नेपाल औषधि उत्पादक संघ ९एपोन०को आयोजनामा भएको तीनदिने नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने नारासहित फागुन २८ देखि ३० गतेसम्म आयोजित एक्स्पोमा नेपाली औषधि उद्योगको प्रविधि, उत्पादन क्षमता र गुणस्तरबारे जानकारी गराइएको थियो।
एपोनका अध्यक्ष विप्लव अधिकारीले नेपालमा अत्याधुनिक मेसिन र प्रविधि प्रयोग गरेर विश्वस्तरीय औषधि उत्पादन भइरहेको बताए। उनले प्रविधिसँगै नीतिगत सुधार भए नेपालले भारत र बंगलादेशसँग पनि औषधि क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरे।
त्यस्तै म्याग्नस फार्मा प्रालिका प्रबन्धक निश्चल जोशीले पछिल्ला वर्षहरूमा नेपाली औषधि कम्पनीहरूको बजार हिस्सा ५० प्रतिशतभन्दा माथि पुगेको बताए। उनका अनुसार नेपाली औषधि मोरिसस र भेनेजुएलासम्म निर्यात भइसकेको छ भने थप निर्यातका लागि सरकारी सहयोग आवश्यक छ।
आयोजकका अनुसार एक्स्पोमा करिब १२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। २०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पोमा कच्चा पदार्थ, प्याकेजिङ सामग्री, अत्याधुनिक मेसिनरी र स्वदेशी औषधि उद्योगका उत्पादनहरू प्रदर्शन गरिएको थियो। यसअघि चितवनमा हुँदै आएको एक्स्पो यसपटक पहिलोपटक काठमाडौँमा आयोजना गरिएको हो।