काठमाडौँ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र भारतको गुरुग्रामस्थित मेदान्ता अस्पतालबीच चिकित्सकीय तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। आइतबार आयोजित कार्यक्रममा दुवै संस्थाका चिकित्सकहरूले जटिल रोगहरूको उपचार तथा व्यवस्थापनसम्बन्धी अनुभव साटासाट गरेका थिए।
कार्यक्रममा मेदान्ताका मुटु शल्यचिकित्सा विभागका वरिष्ठ निर्देशक डा। सुरिन्दर बजाज तथा स्नायु–विज्ञान विभागका अध्यक्ष डा। भि। पी। सिंहको विशेष उपस्थिति रहेको थियो। उनीहरूले किष्टका चिकित्सकहरूसँग अन्तरक्रिया गर्दै आफ्नो लामो अनुभव, विशेषज्ञता तथा जटिल रोगहरूको उपचारसम्बन्धी ज्ञान साझा गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा किष्टका १०० भन्दा बढी युवा चिकित्सकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न जटिल चिकित्सकीय घटनाको प्रस्तुति, विश्लेषण तथा अनुभव आदान–प्रदान गरिएको थियो। यसले सहभागी चिकित्सकहरूलाई व्यावहारिक ज्ञान प्राप्त गर्न र नयाँ दृष्टिकोण विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
किष्ट र मेदान्ता बीच केही महिनाअघि सहकार्य सुरु भएको हो। सो सहकार्यअन्तर्गत दूरचिकित्सा सेवा पनि सञ्चालनमा रहेको छ, जसबाट जटिल रोगका बिरामीले विशेषज्ञ परामर्शका लागि भारत जानुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको छ।
भारतको गुरुग्राममा रहेको मेदान्ता बहुविशेषज्ञता सेवा प्रदान गर्ने अग्रणी अस्पतालमध्ये एक मानिन्छ। त्यसैगरी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल नेपालमै पहिलोपटक राष्ट्रिय अस्पताल मान्यता प्राप्त गर्ने मेडिकल कलेजका रूपमा परिचित छ। यस संस्थाले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।