काठमाडौँ । नेपाल चिकित्सक संघ (एनएमए) को स्थगित केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया पुनः अघि बढाउने तयारी गरिएको छ। यसका लागि निर्वाचन समितिले आगामी बुधबार उम्मेदवार तथा उनीहरूका प्रतिनिधिसँग छलफल गर्ने भएको छ।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले सूचना जारी गर्दै २०८२ चैत ४ गते बिहान ११ बजे संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित हुन आग्रह गरेका छन्। छलफलमा स्थगित निर्वाचन कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा सुझाव लिइने बताइएको छ।
यसअघि निर्वाचन समितिले डा. अरुण शाहीसहित केही चिकित्सकको उम्मेदवारी खारेज गरेपछि उनीहरू अदालत पुगेका थिए। उच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि सबै उम्मेदवारको उम्मेदवारी कायम भएको थियो।
त्यसपछि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भएपछि संघको निर्वाचन कार्यक्रम स्थगित गरिएको थियो। आचारसंहिता समाप्त भएसँगै अब निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको समितिले जनाएको छ।