नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले आठ महिनाको अवधिमा १६ वटा औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ पसल बाँके र पाँच पसल कैलालीका रहेका छन्।
सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म गरिएको अनुगमनमा व्यवसायी उपस्थित नभएको, बिना दर्ता पसल सञ्चालन गरेको र म्याद नाघेका औषधि फेला परेको जस्ता कारणले ती पसलमाथि कारबाही गरिएको हो।
यस अवधिमा बिना इजाजत औषधि पसल सञ्चालन, दर्ता नभएका औषधि पैठारी तथा अवैध आयातजस्ता कसुरमा १४ मुद्दा अदालतमा दर्ता गरिएको विभागले जनाएको छ।
विभागले चालु आर्थिक वर्षको फागुनसम्म ४४१ औषधि पसलको अनुगमन गरेको छ भने ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ।