नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको जोखिम बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गर्दै खोप अभियान सुरु गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार चैत १ गतेदेखि सुरु भएको अभियानअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । यस अभियानमार्फत करिब एक लाख ५० हजारभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
कार्यालयका प्रमुख केशव चापागाईँका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा १५ जनामा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि खोप अभियान सञ्चालन गरिएको उनले बताए ।
जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार रोगको जोखिम बढेकाले रोकथामका लागि जिल्लाभर अभियान सञ्चालन गरिएको हो । जापनिज इन्सेफ्लाइटिस क्युलेक्स नामक लामखुट्टेबाट सर्ने रोग हो । धानबालीमा जमेको पानी यस्ता लामखुट्टेको प्रमुख बासस्थान मानिन्छ र प्रायः साउनदेखि असोजसम्म रोग बढी देखिने गर्दछ ।