सुनसरी । जिल्ला अस्पताल इनरुवाको सेवा सुधारको माग गर्दै सङ्घर्ष समितिले ३४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सोमबार अस्पताल प्रशासनसँग छलफल गर्दै पत्र बुझाइएको हो।
समितिका संयोजक दिलीपचन साहुका अनुसार एण्टिरेबिज खोपको अभाव, पर्याप्त सेवा सुविधाको कमी र बिरामीमैत्री वातावरण नहुँदा नागरिक मारमा परेका छन्। मागपत्रमा ल्याब, ब्लड बैंक, आइसियू, भेन्टिलेटर, सिटीस्क्यान सञ्चालनदेखि विशेषज्ञ चिकित्सक, औषधि उपलब्धता र २४सैँ घण्टा आकस्मिक सेवा सुनिश्चित गर्नुपर्ने विषय समेटिएका छन्।
अस्पतालमा सेवा कमजोर भएको भन्दै विगत पाँच वर्षदेखि आवाज उठाउँदै आएको समितिले १५ दिनभित्र माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ। अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष राजन मेहताले भने जायज मागहरू छिट्टै सम्बोधन गर्दै सेवा सुधारमा लाग्ने प्रतिबद्धता जनाएका छन्।