काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ उल्लेख्य रूपमा घटेर आएको छ। अर्थ मन्त्रालयले मन्त्रालयलाई ४३ अर्ब २३ करोड रुपैयाँको सीमाभित्र रहेर कार्यक्रम बनाउने निर्देशन दिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब २३ प्रतिशत कम हो।
गत वर्ष सुरुमा ५२ अर्ब ५२ करोडको सिलिङ पाएको स्वास्थ्यले पछि बढेर करिब ५६ अर्ब रुपैयाँसम्मको बजेट पाएको थियो। तर यसपटक घटेको सिलिङले नियमित कार्यक्रमदेखि सेवा विस्तारसम्म असर पर्ने चिन्ता बढेको छ।
नयाँ सिलिङअनुसार चालुतर्फ ३१ अर्ब ९३ करोड र पुँजीगततर्फ ११ अर्ब ३२ करोड छुट्याइएको छ। स्रोत व्यवस्थापनमा सरकारी हिस्सा बढी भए पनि वैदेशिक अनुदान र ऋण दुवै घटेको देखिन्छ।
स्वास्थ्य बीमा कार्यक्रमका लागि भने १२ अर्ब रुपैयाँ छुट्याइएको छ, तर विगतदेखि नै भुक्तानी समस्या झेल्दै आएको यो कार्यक्रम थप दबाबमा पर्ने संकेत देखिएको छ।
यता, राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भइरहँदा स्वास्थ्य क्षेत्रमा लगानी घट्नुले प्राथमिकतामाथि प्रश्न उठेको छ। जनसंख्या वृद्धि, रोगको स्वरूप परिवर्तन र सेवाको माग बढ्दो अवस्थामा बजेट कटौतीले सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठनले कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यमा लगानी गर्न सुझाए पनि नेपालमा यो हिस्सा अझै न्यून छ। नयाँ बजेट सिलिङले उक्त लक्ष्य झन् टाढिने देखिएको छ।