नवलपरासी । जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानमा हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्। तीमध्ये १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन्।
जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानअन्तर्गत मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१।१ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। केही स्थानीय तहमा प्रगति अझै राम्रो देखिएको छ। मध्यविन्दु नगरपालिकामा करिब ५० प्रतिशत र बौदिकाली गाउँपालिकामा ४७ प्रतिशत उपलब्धि हासिल भएको छ।
पछिल्ला वर्षमा सङ्क्रमण बढ्दै गएपछि ३५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै चैत १ गतेदेखि अभियान सुरु गरिएको हो। करिब एक लाख ५० हजार जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।
यस वर्ष मात्र जिल्लामा १५ जना सङ्क्रमित भेटिएका छन्, जसमध्ये ६ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्यकर्मीहरूले समयमै खोप लगाउन सबैलाई आग्रह गर्दै अभियानबाट लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्।