जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत चैत ९ गतेदेखि जिल्लाका आठै स्थानीय तहमा अभियान सुरु गर्न लागिएको हो।
जिल्लाभर ८४ विद्यालयमा खोप केन्द्र स्थापना गरी कक्षा ६ मा अध्ययनरत १,२७७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। यसअघि कक्षा ७ देखि १० सम्मका किशोरीलाई खोप दिइएको थियो भने यस वर्ष कक्षा ६ लाई मात्र लक्षित गरिएको छ।
खोप अभियान प्रभावकारी बनाउन सरोकारवालासँग पूर्वतयारीसम्बन्धी छलफल समेत गरिएको छ। स्वास्थ्य कार्यालयले अभियानबाट कुनै पनि किशोरी नछुट्ने गरी व्यवस्थापन मिलाइएको दाबी गरेको छ।